लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध ४० रनको उत्कृष्ट जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। पहिलोपटक फाइनल पुगेको लुम्बिनीले अब उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमै विराटनगरलाई हराउँदै फाइनलमा स्थान सुनिश्चित गरेको थियो। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो। विराटनगरका लागि साम हिजलेटले ३४ रन, नरेन भट्टले २१ रन र मर्सान्ट डी लाङ्गले १७ रन बनाए।

लुम्बिनीका तर्फबाट तिलक भण्डारी ३ विकेटसहित चम्किए भने जेजे स्मिथ, अभिषेश गौतम र रुबेन ट्रम्पलम्यानले २–२ विकेट योगदान गरे। शेर मल्लले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो। टोलीका लागि डार्शी शर्टले ४५ रन, कप्तान रोहितकुमार पौडेलले ३४ रन, निरोशन डिकवेलाले २९ रन र रुबेन ट्रम्पलम्यानले अविजित ११ रनको योगदान गरे। विराटनगरका बलरहरूमा सुवाश भण्डारी र प्रतिस जिसीले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे। अब लुम्बिनी लायन्स उपाधिका लागि निर्णायक खेलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय