काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग NPL मा विराटनगर किङ्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार तेस्रो जित हात पारेको छ। बुधबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई ९ रनले पराजित गर्दै शीर्षस्थानतर्फ मजबुत दाबी गरेको हो। १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि जान–निकल लफ्टी इटनले सर्वाधिक ४१ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर लाहिरु मिलनथाले २३ रन, सन्जय कृष्णमुर्तीले २० तथा आसिफ शेखले १३ रनको योगदान दिए।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने अविजित रहे। उनले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिए। सूर्य तामाङले २ विकेट, जबकि सुभम रञ्जन र मर्चेल डे लिङ्गाले एक–एक विकेट हात पारे। यस जितसँगै विराटनगरले ३ खेलबाट ६ अंक जोडेर लगातार विजयको क्रम कायम राखेको छ। जनकपुरले भने लगातार दोस्रो हार ब्यहोरेको छ। यसअघि टस हारेर ब्याटिङ गरेका विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रनको योगफल बनाएको थियो। टिमका लागि सुभम रञ्जनले सर्वाधिक ३७ रन बनाए। बासिर अहमदले ३६ रन जोड्दा ओपनर लोकेश बमले २९ रनको योगदान दिए। जर्ज मुन्से १० रन र मार्टिन गप्टिल १३ रन बनाएर आउट भए।

जनकपुरका लागि बलिङतर्फ संगीत कोरे र रुपेश सिंहले समान २–२ विकेट लिए भने आदित्य महताले १ विकेट हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय