काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उनले सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।



निर्वाचन समितिका अनुसार सभापति पदका लागि थापाको मात्रै उम्मेदवारी परेको छ । अन्य पदाधिकारी पदका लागि पनि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको जानकारी निर्वाचन समिति स्रोतले दिएको छ ।
यसअघि सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयासस्वरूप बुधबार बिहान सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । तर उक्त वार्ताबाट सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत अघि बढ्ने अवस्था बनेको हो । मनोनयन दर्ता सम्पन्न भए पनि महामन्त्रीद्वय थापा र शर्मा हाल कानुनी पक्षबारे विज्ञहरूसँग परामर्श गरिरहेको जनाइएको छ ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारी दर्ताको समय सकिइसकेको छ र दिउँसो १ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ । दोस्रो विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चयन गर्न लागेको हो, जसलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ ।



