काठमाडौं — शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटेर पदबाट राजीनामा बुझाएकी छन्। लामो समयदेखि शिक्षकहरू आफ्ना विभिन्न माग राख्दै आन्दोलनरत रहँदा शिक्षामन्त्रीको राजीनामा विशेष महत्वको रूपमा हेरिएको छ। मन्त्री भट्टराईको निजी सचिवालयले राजीनामाको पुष्टि गर्दै उनले औपचारिक रूपमा प्रधानमन्त्रीलाई पदबाट हट्न चाहेको जानकारी गराएको जनाएको छ।

शिक्षा क्षेत्र सुधारका लागि भन्दै देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूले सरुवा, बढुवा, तलब संरचना, स्थायीकरण लगायतका विषयमा सरकारसँग गम्भीर वार्ताको माग गरिरहेका थिए। तर, सरकार र शिक्षकमध्ये बीचमा स्पष्ट संवाद नहुँदा समस्या झन् जटिल बन्दै गएको छ। शिक्षामन्त्री भट्टराईले आन्दोलनरत शिक्षकहरूका माग प्रति सकारात्मक धारणा राख्दै उनीहरूसँग बारम्बार संवादको प्रयास गरे पनि प्रधानमन्त्रीको निर्देशनअनुसार सो प्रयास प्रभावकारी हुन सकेन। प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच नीतिगत विषयमा पटक–पटक मतभेद देखा परेको स्रोतहरूले जनाएका छन्। यिनै मतभेद र बढ्दो दबाबकै कारण मन्त्री भट्टराईले अन्ततः पदबाट ससम्मान राजीनामा दिने निर्णय लिएको बुझिएको छ।

उनको राजीनामापछि शिक्षा क्षेत्रमा नयाँ नेतृत्व कसले लिने भन्ने प्रश्न उठेको छ। यद्यपि, प्रधानमन्त्रीको सचिवालयले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। शिक्षा क्षेत्रका जानकारहरू भन्छन्, “मन्त्रीको राजीनामा समाधान होइन, यो शिक्षा क्षेत्रमा चलिरहेको समस्याको एउटा प्रतिबिम्ब मात्रै हो। अब सरकार गम्भीर भएर वार्तामा जानुपर्ने अवस्था आएको छ।”

यससँगै, आन्दोलनरत शिक्षकहरू पनि मन्त्रीको राजीनामालाई सकारात्मक तर दुखद संकेतको रूपमा लिएको बताइएको छ। उनीहरूले तत्काल संवाद प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय