काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा आयोजित कार्यक्रममा युवा नीति सार्वजनिक गर्नुभएको हो ।
खेलकुदमन्त्री चौधरीले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिएको र सम्रग युवाको शिक्षा, स्वास्थ्य, रोजगारलगायतको विषय यस युवा नीतिमा समावेश गरिएको उल्लेख गर्नुभयो ।



त्यस्तै मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले सात प्रदेश र विज्ञहरुसहित करिब १ हजारभन्दा बढी व्यक्तिको छलफलबाट उक्त नीति तयार गरिएको बताउनुभयो । उहाँले एआईलगायतका विभिन्न प्रविधि भित्रिएसँगै यसलाई सम्बोधन गर्न पनि नीति ल्याइएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई पनि समेट्ने किसिमको युवा नीति आएको बताउनुभयो ।
त्यसैगरी, गुणस्तरीय शिक्षामा युवाको पहुँच बढाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी दक्ष युवा जनशक्ति तयार गर्ने, रोजगारमूलक शिक्षामा युवाको सहभागिता बृद्धि गर्नेलगायत शिक्षासँग सम्बन्धित ९ वटा कार्यनीति ल्याएको छ ।
त्यस्तै, घातक रोग एचआइभी सङ्क्रमण, लागूऔषध दुव्र्यसन तथा कुलतमा परेका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत स्वास्थ्य क्षेत्रमा ८ वटा नीति ल्याएको छ ।
‘डिजिटल’ समावेशीकरणको सिद्धान्तअनुरुप सूचना प्रविधिको प्रयोगमा सबै युवाको सहभागिता सुनिश्चित गर्दै सूचना प्रविधिको क्षेत्रलाई रोजगारीको मुख्य केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रमा युवाको सहभागितालगायत विषय युवा नीतिमा समावेश गरिएको छ ।



