काठमाडौं । बैतडीमा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत ३ वर्षको तथ्याङ्कले यहाँ उद्योग दर्ता गर्नेको क्रम घट्दै गएको देखिएको हो ।
गएका तीन वर्षमा साना र मझौला उद्योग गरेर ७ सय ५३ उद्योग दर्ता भएका थिए । तर, यो क्रम अहिले प्रत्येक वर्ष घट्दो क्रममा छ । दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् ।



आर्थिक वर्ष २०७९–०८० मा यहाँ ४ सय २७ उद्योग दर्ता भएकोमा आ.व २०८०–०८१ मा उक्त सङ्ख्या घटेर १ सय ९१ उद्योगमात्र दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
त्यसैगरी, आ.व. २०८१–०८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आ.व. मा यहाँ १ सय ३५ मात्र उद्योग दर्ता भएको देखिन्छ । गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ तीन सय ९९ सय फर्म दर्ता भएका छन् । वाणिज्यतर्फ आ.व. २०७९–०८० मा १ सय ६३, २०८०–०८१ मा १ सय ७३ र गत २०८१–०८२ मा ६३ फर्म दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी लक्ष्मणकुमार साउद बताउनु हुन्छ । आ.व. २०७९–०८० मा २ सय ५१, आ.व. २०८०–०८१ मा २०४ र गत आ.व. २०८१–०८२ मा ३ सय ९३ उद्योग नवीकरण भएका छन् ।
तीन वर्षको अवधिमा वाणिज्यतर्फका १ हजार १ सय २२ व्यवसाय नवीकरण भएका छन् । जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् ।
युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको घरेलु तथा साना उद्योगले जनाएको छ । सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र पनि उद्योग दर्ता हुने गरेको र पछि अनुदान र सुविधा नपाउँदा खारेज हुने क्रम बढ्दै गएको छ ।
गएको तीन वर्षमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट ७७ लाख ६ हजार ७ सय ७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।



