निजी सवारीसाधनलाई भाडामा चलाउन दिने गण्डकी प्रदेश सरकारको नयाँ निर्देशिका विरुद्ध सुरु भएको आन्दोलनको पृष्ठभूमिमा सोमबार सरकार र यातायात व्यवसायीबीच दिनभर चलेको वार्ता सकारात्मक रुपमा टुंगिएको छ। वार्ताबाट छबुँदे सहमतिको मस्यौदा तयार पारिएको छ।
वार्तामा गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। सरकारी पक्षको नेतृत्व सहसचिव कृष्णराज पन्तले गरेका थिए भने व्यवसायी तर्फ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा टोली सहभागी भएको थियो।



गण्डकी प्रदेश सरकारले ल्याएको निर्देशिकामा निजी सवारीसाधनलाई सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न दिने व्यवस्था गरिएको छ। व्यवसायी पक्षले यस कदमले परम्परागत सार्वजनिक यातायात व्यवसाय संकटमा पर्ने भन्दै आपत्ति जनाएको हो।
सरकारी वार्ता टोलीका सदस्य रविन्द्र आचार्यका अनुसार, निर्देशिका सम्बन्धी विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई पुनर्विचार गर्न अनुरोध गरिने सहमति भएको छ।
यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले निर्देशिकाको विवादास्पद बुँदा हटाइए मात्र आन्दोलन स्थगित हुने बताएका छन्। सोमबार रातिसम्म कुनै अन्तिम निष्कर्ष नआएपछि आज पुनः बैठक बस्ने जनाइएको छ।



