काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले अन्तर्राष्ट्रिय कम्पनी अमेजनका गोदाममा समेत श्रम शोषण र असुरक्षित कार्यस्थितिको सामना गर्नुपरेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले अमेजनका गोदाममा काम गर्ने नेपालीसहित भारतका आप्रवासी श्रमिकहरू अझै पनि रोजगार असुरक्षा, आर्थिक शोषण र श्रमिक अधिकार हननको जोखिममा रहेको देखाएको हो ।‘साउदी अरबमा अमेजनः आप्रवासी श्रमिक किन अझै शोषणको जोखिममा छन्’ शीर्षकको प्रतिवेदनमा अमेजनले श्रमिकको भर्ना प्रक्रिया, आवास र गुनासो सुनुवाइ प्रणालीमा केही सुधार गरे पनि श्रमिक आपूर्ति गर्ने तेस्रो पक्षका कम्पनीमाथि निर्भर रहने रोजगार प्रणालीका कारण समस्या कायमै रहेको उल्लेख छ ।

एम्नेस्टीले सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म गरेको अनुसन्धानका क्रममा भारत र नेपालका २४ जना आप्रवासी श्रमिकसँग अन्तर्वार्ता गरेको थियो । उनीहरू साउदी अरबको राजधानी रियादस्थित अमेजनको एउटा गोदाममा तीनवटा श्रमिक आपूर्ति कम्पनीमार्फत कार्यरत थिए वा हालै त्यहाँबाट काम छाडेका थिए । प्रतिवेदनअनुसार धेरै श्रमिकलाई नेपाल तथा भारतमै रहँदा अमेजनमा दुई वर्षको करार अवधिका लागि प्रत्यक्ष रोजगारी दिने आश्वासन दिइएको थियो । तर साउदी अरब पुग्नुअघि मात्रै आफूहरू अमेजनको प्रत्यक्ष कर्मचारी नभई तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत नियुक्त हुने जानकारी पाएको उनीहरूले बताएका छन् । यसरी तेस्रो पक्षमार्फत नियुक्त हुँदा श्रमिकको रोजगारी अमेजनमा कति समयसम्म कायम रहने भन्ने निश्चित नहुने समस्या देखिएको छ । अमेजनले जुनसुकै बेला कामबाट हटाउन सक्ने भएकाले श्रमिकहरू सधैँ असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालका प्रकाश नाम गरेका एक श्रमिकले आफूहरू अस्थायी कामदारका रूपमा काम गरिरहेको र अमेजनले चाहेको समयमा कामबाट हटाउन सक्ने अवस्था रहेको बताएका छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार कामबाट हटाइएपछि पनि श्रमिकको भिसा श्रमिक आपूर्ति कम्पनीकै प्रायोजनमा रहने भएकाले उनीहरूलाई अर्को कम्पनीमा काम खोज्न वा सहज रूपमा स्वदेश फर्किनसमेत कठिन हुने गरेको छ । अमेजनबाट हटाइएपछि अर्को रोजगारी नपाउँदा कतिपय श्रमिक हप्तौँदेखि महिनौँसम्म बेरोजगार बस्न बाध्य भएका छन् । यस्तो अवस्थामा श्रमिक आपूर्ति कम्पनीले नियमित तलब उपलब्ध नगराउँदा उनीहरू आर्थिक संकटमा पर्ने गरेका छन् । कतिपयले गुजारा चलाउन ऋण लिनुपर्ने वा साथीभाइको सहयोगमा निर्भर हुनुपर्ने अवस्था आएको प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनमा एक भारतीय श्रमिकको अनुभव पनि उल्लेख गरिएको छ । अमेजनबाट कामबाट हटाइएपछि भारत फर्किने प्रतीक्षामा रहेका ती श्रमिकले तीन महिनासम्म तलब नपाउँदा खानासमेत साथीहरूको सहयोगमा जुटाउनुपरेको बताएका छन् । रोजगारी गुमाएपछि आफ्नो आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन भएको उनको भनाइ छ ।त्यस्तै, बिदा स्वीकृत गराएपछि पनि कामबाट हटाइएको र स्वदेश फर्किन आवश्यक एक्जिट भिसाको प्रक्रिया अघि बढाउन श्रमिक आपूर्ति कम्पनीले दुई महिनाको तलबबराबर रकम मागेको घटनासमेत प्रतिवेदनमा समेटिएको छ । यसले रोजगारदाता कम्पनीमाथि निर्भर रहनुपर्ने आप्रवासी श्रमिकको कमजोर अवस्थालाई थप उजागर गरेको छ ।

उत्पादन लक्ष्य पूरा गर्न दबाब, निरन्तर निगरानी
एम्नेस्टीको प्रतिवेदनले अमेजनका गोदाममा काम गर्ने श्रमिकले उत्पादन लक्ष्य पूरा गर्न अत्यधिक दबाब सामना गर्नुपरेको पनि उल्लेख गरेको छ । कामको क्रममा निरन्तर निगरानी गरिने र तोकिएको लक्ष्य पूरा गर्न नसके जागिरबाट निकाल्ने धम्कीसमेत दिने गरिएको श्रमिकहरूले बताएका छन् ।कामको चाप र रोजगारी गुम्ने डरका कारण श्रमिकहरू मानसिक दबाबमा समेत रहने गरेका छन् । उनीहरूले अमेजनको गुनासो सुनुवाइ प्रणाली प्रयोग गर्न सक्ने व्यवस्था भए पनि उजुरी गरेकै कारण श्रमिक आपूर्ति कम्पनीबाट प्रतिशोध हुन सक्ने डरले खुलेर गुनासो गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । श्रमिकको गुनासो सुनुवाइ गर्ने व्यवस्था हुनु मात्रै पर्याप्त नभई उजुरी गरेकै कारण कुनै श्रमिकले थप समस्या भोग्न नपर्ने सुनिश्चितता हुनुपर्ने एम्नेस्टीको निष्कर्ष छ ।

यसअघि पनि अमेजनले फिर्ता गरेको थियो २४ लाख ५० हजार डलरभन्दा बढी रकम
अमेजनका गोदाममा काम गर्ने श्रमिकको अवस्थाबारे एम्नेस्टीले यसअघि सन् २०२३ मा पनि अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानपछि अमेजनले साउदी अरबमा कार्यरत एक हजार १८० जना श्रमिकलाई गैरकानुनी भर्ना शुल्कबापत २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो । त्यसपछि कम्पनीले श्रमिकको आवास व्यवस्थापन र गुनासो सुनुवाइ प्रणालीमा समेत सुधार गरेको जनाएको थियो । श्रमिक आपूर्ति कम्पनीमाथिको निगरानी बढाउने, नियमित लेखापरीक्षण गर्ने तथा कामदारलाई समयमै तलब र अन्य सुविधा उपलब्ध गराउन निर्देशन दिने काम गरिएको अमेजनको भनाइ छ । त्यस्तै, कामबाट हटाइएका श्रमिकलाई अर्को रोजगारी खोज्न सहयोग गर्ने, रोजगारदाता परिवर्तनको प्रक्रिया अघि बढाउने र त्यसो गर्न सम्भव नभए स्वदेश फर्किने खर्च व्यहोर्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । तर एम्नेस्टीले कम्पनीले गरेका यी सुधारले श्रमिक शोषणका मूल कारणलाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको छ । विशेषगरी तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत कामदार नियुक्त गर्ने प्रणाली नै आप्रवासी श्रमिकका लागि असुरक्षाको प्रमुख कारण बनेको प्रतिवेदनको ठहर छ ।

अमेजनलाई प्रत्यक्ष रोजगारीको व्यवस्था गर्न एम्नेस्टीको आग्रह
एम्नेस्टी इन्टरनेसनलकी कार्यक्रम निर्देशक मार्टा स्फाफले तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमा निर्भर रहने अमेजनको रोजगार प्रणालीले आप्रवासी श्रमिकलाई निरन्तर शोषणको जोखिममा राखेको बताएकी छन् । उनले श्रमिकलाई प्रत्यक्ष रोजगारी दिने व्यवस्था गर्न र कामबाट हटाइएका अवस्थामा पनि उनीहरूको आम्दानी, आवास तथा अन्य अधिकार सुरक्षित हुने सुनिश्चितता गर्न अमेजनलाई आग्रह गरेकी छन् । एम्नेस्टीका अनुसार श्रमिकलाई कामबाट हटाएपछि उनीहरूको भिसा, रोजगारी र स्वदेश फर्किने प्रक्रियासमेत श्रमिक आपूर्ति कम्पनीको नियन्त्रणमा रहने अवस्था अन्त्य हुन आवश्यक छ । रोजगारदाता परिवर्तन गर्न वा स्वदेश फर्किन पाउने अधिकारलाई सहज र सुरक्षित बनाउनुपर्ने संस्थाको माग छ ।

कफाला प्रणाली अन्त्य गर्न साउदी सरकारसँग माग
एम्नेस्टीले श्रमिक शोषण नियन्त्रणका लागि अमेजनसँगै साउदी सरकारको भूमिका पनि महत्वपूर्ण हुने जनाएको छ । विशेषगरी आप्रवासी श्रमिकको रोजगारी, आवागमन र दैनिक जीवनमा रोजगारदाताको नियन्त्रण कायम राख्ने कफाला प्रायोजन प्रणाली पूर्ण रूपमा अन्त्य गर्नुपर्ने संस्थाको माग छ । कफाला प्रणालीअन्तर्गत आप्रवासी श्रमिकको कानुनी हैसियत र रोजगारदाताबीचको सम्बन्ध जोडिने भएकाले रोजगारदाता परिवर्तन गर्न, रोजगारी छाड्न वा स्वदेश फर्किन श्रमिकलाई कठिनाइ हुने गरेको मानव अधिकारवादी संस्थाहरूले औँल्याउँदै आएका छन् ।

प्रतिवेदन सार्वजनिक हुनुअघि एम्नेस्टीले अनुसन्धानका निष्कर्ष अमेजन र साउदी सरकार दुवैलाई उपलब्ध गराएको थियो । अमेजनले आफ्नो धारणा पठाए पनि प्रतिवेदन सार्वजनिक हुँदासम्म साउदी सरकारले भने कुनै प्रतिक्रिया नदिएको एम्नेस्टीले जनाएको छ ।वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपालीको संख्या ठूलो रहेकाले अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्ने नेपाली श्रमिकको अवस्थाबारे सार्वजनिक भएको यो प्रतिवेदन महत्वपूर्ण मानिएको छ । रोजगारीको आकर्षणमा विदेश पुगेका श्रमिकले सुरक्षित कार्यस्थल, नियमित पारिश्रमिक र सम्मानजनक व्यवहार पाउनु उनीहरूको आधारभूत अधिकार हो ।

तर कामबाट निकालिएपछि तलब नपाउने, अर्को रोजगारी खोज्न नपाउने र स्वदेश फर्किनसमेत आर्थिक तथा कानुनी अवरोध सामना गर्नुपर्ने अवस्था कायम रहनुले वैदेशिक रोजगारीमा नेपाली श्रमिकको सुरक्षा अझै चुनौतीपूर्ण रहेको देखाउँछ । त्यसैले श्रमिकको अधिकार संरक्षणका लागि नेपाल सरकार, साउदी सरकार र रोजगारदाता कम्पनीबीच प्रभावकारी समन्वय तथा नियमित अनुगमन आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय