सिरहा – सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग गरेको आरोपमा प्रहरीले सिरहाका मनोज कुमार महतो ९मानव० लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान नगरपालिका–२४ का महतोलाई साइबर अपराध तथा सार्वजनिक शान्तिमा खलल पार्ने कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार महतोले विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता, राष्ट्रसेवक कर्मचारीलगायत व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने मनसायले बिना प्रमाण आधारहीन, तथ्यहीन तथा धम्कीपूर्ण सामग्री पोस्ट गर्दै आएको आरोप छ। यस्ता गतिविधिबाट सामाजिक सद्भाव र शान्तिमा खलल पुर्याउने कार्य गरेको प्रहरीको दाबी छ।



प्रहरीका अनुसार उनीविरुद्ध कसुरमा जाहेरी दर्ता भई पक्राउ पुर्जी जारी भएको थियो। सोही आधारमा खोजतलास गर्ने क्रममा महतोलाई उदयपुरको त्रियुगा पुलपारि रहेको एक होटलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
उनीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिए। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यसैबीच, महतोसँग अटोमेटिक हतियार रहेको र आफू पूर्व जनतान्त्रिकको लडाकु भएको भन्दै धम्की दिने गरेको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। उक्त हतियारको तस्बिर देखाएर केही व्यक्तिसँग आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्राप्त भएको प्रहरीको भनाइ छ। प्रहरीले हतियारसम्बन्धी सूचनालगायत उनीमाथि लगाइएका अन्य आरोपबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।



