काठमाडौँ — काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसपछि विभिन्न ह्याशट्यागहरू ट्रेन्डिङमा परेका छन्।
सोमबार मध्यरातमा बालेनले प्रयोग गरेको ‘#kpoliisterrorist’ ह्याशट्याग अहिले एक्स, फेसबुक, टिकटक र इन्स्टाग्राममा व्यापक प्रयोग भइरहेको छ। यससँगै ‘#ArrestKpOli’ ह्याशट्याग पनि प्रयोगकर्ताबीच चर्चामा छ। यी ह्याशट्यागमार्फत हजारौँ प्रयोगकर्ताले आलोचना गर्दै ओलीलाई पक्राउ गर्नुपर्ने माग गरेका छन्।



सामाजिक सञ्जाल प्रयोगकर्ताले ओलीको आलोचना गर्ने पोस्टर, व्यङ्ग्यात्मक सामग्री र विद्यार्थी आन्दोलनका क्रममा कैद गरिएका तस्बिरहरू सार्वजनिक गरेका छन्। आन्दोलनमा ज्यान गुमाएका युवा-विद्यार्थीका परिवारको पीडा देखाउने सामग्री पनि ती पोस्टमा समावेश गरिएको छ।
त्यसैगरी एक्समा ‘#GenZProtest’, ‘#EnoughIsEnough’ र ‘#JusticeForStudents’ जस्ता ह्याशट्याग पनि देखिएका छन्, जसले अभियान युवापुस्तामै केन्द्रित भएको संकेत गर्छ। टिकटक प्रयोगकर्ताले पनि भिडिओ सामग्रीमार्फत आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन्।
सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारी निर्णय, बढ्दो भ्रष्टाचार, राजनीतिज्ञका परिवारको विलासी जीवनशैली र अस्थिर राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै जेन-जीले सोमबार राजधानीमा प्रदर्शन थालेका थिए। त्यसपछि आन्दोलन पोखरा, बुटवल, नारायणघाट, सुर्खेत, विराटनगर, इटहरी, सुनसरी र दमकलगायतका सहरमा फैलिएको छ। मंगलबारसम्म यो आन्दोलन देशव्यापी बनेको छ।



