काठमाडौं — सरकारले मुलुकमा कायम सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्ने प्रक्रिया अघि बढाएको छ। सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएपछि सरकारी कार्यालयहरू लामो समय बन्द रहने अवस्था देखिएको भन्दै सरकारले हालका सार्वजनिक बिदाहरूको संख्या र व्यवस्थापनबारे अध्ययन थालेको हो।

सचिवस्तरीय बैठकले सातामा दुई दिन बिदा लागू भएपछि चाडपर्व, दिवस तथा अन्य अवसरका सार्वजनिक बिदासमेत जोडिँदा वर्षभरि कार्यालय सञ्चालन हुने दिन घटेको निष्कर्ष निकालेको थियो। यसबाट सरकारी सेवा प्रवाहमा असर परेको भन्दै बिदा व्यवस्थापनलाई पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यसैक्रममा सरकारले सार्वजनिक बिदाहरूको अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहेका छन्।

कार्यदललाई आगामी १५ दिनभित्र हाल कायम सार्वजनिक बिदाहरूको अवस्था, आवश्यकता, प्रभाव र व्यवस्थापनका विषयमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। कार्यदलले विभिन्न समुदाय, संस्कृति, राष्ट्रिय दिवस तथा प्रशासनिक आवश्यकतालाई समेत ध्यानमा राखेर सुझाव दिने बताइएको छ।

सरकारले कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको सार्वजनिक बिदा क्यालेन्डरमा आवश्यक परिवर्तन गर्ने तयारी गरेको छ। केही बिदा हटाउने, केहीलाई मिलाउने वा आवश्यकताअनुसार परिमार्जन गर्ने विकल्पमा छलफल भइरहेको छ।

सरकारी अधिकारीहरूका अनुसार सार्वजनिक बिदा घटाउने विषय केवल संख्या कम गर्ने उद्देश्यले मात्र नभई नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसँग जोडिएको छ। लामो समय कार्यालय बन्द हुँदा सेवाग्राहीले सरकारी कामका लागि कुर्नुपर्ने अवस्था आउने भएकाले बिदा व्यवस्थापनलाई व्यवस्थित बनाउन खोजिएको हो।

यद्यपि, सार्वजनिक बिदा सम्बन्धी निर्णय गर्दा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्व बोकेका दिवसहरूको संवेदनशीलतालाई समेत ध्यान दिनुपर्ने देखिएको छ। कार्यदलको प्रतिवेदनपछि मात्रै कुन–कुन बिदामा परिवर्तन गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय