सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा परीक्षण गरिएको सिकलसेल रोगको नयाँ औषधि नेपालमा ल्याएर बिरामीलाई वितरण गर्ने घोषणा गरेका छन् । सिकलसेल एक जटिल रक्तसम्बन्धी रोग हो, जसको प्रभाव विशेष रूपमा नेपालका थारु समुदायमा बढी देखिएको छ । यस रोगको उपचारमा अहिलेसम्म ठूलो चुनौती रहेको छ । प्रधानमन्त्री ओलीको यो घोषणा बिरामीहरूको लागि आशा र राहतको स्रोत बनेको छ ।

प्रधानमन्त्री ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औं दीक्षान्त समारोहमा सहभागी हुँदै नयाँ औषधिको उपलब्धताको बारेमा बताउनु भयो ।
ओलीले नेपालका स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता र सरकारको प्राथमिकता पनि स्पष्ट पार्नुभयो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा ६५७ विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको थियो । यस समारोहमा विभिन्न शैक्षिक क्षेत्रका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार दिइयो । विशेष गरी, एमबीबीएस र बीडीएस तर्फका उत्कृष्ट विद्यार्थीहरूलाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको थियो ।

उपकुलपति स्वर्ण पदकको साथै, विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई नारायण गोन्विन्द स्वर्ण पदक र हरिमान उमा देवी स्वर्ण पदक पनि प्रदान गरिएको थियो । डाक्टर अवध नारायण स्मृती पुरस्कार, जुन सर्जरी विषयमा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीलाई दिइन्छ, यस पटक पनि आठजना विद्यार्थीलाई प्रदान गरिएको थियो । यस समारोहमा भारतका प्रमुख शिक्षाविद् प्रो. डा. ज्योतिर्मोय पलँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायतका अन्य प्रमुख व्यक्तिहरू पनि कार्यक्रममा सहभागी थिए ।

प्रधानमन्त्री ओलीले यस अवसरमा स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्न सरकारको योजनाबद्ध कदमहरूको बारेमा पनि जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा शिक्षकहरूको कोटा थप्न र यो क्षेत्रलाई अझ प्रभावकारी र सुशासनयुक्त बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय