सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पबाट भोटेकोशी गाउँपालिकामा ठूलो क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ। गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार भूकम्पको धक्का ठूलो महसुस गरिए पनि हालसम्म कुनै ठूलो क्षतिको जानकारी आएको छैन। ‘केन्द्रबिन्दु भएर होला, धक्का निकै ठूलो महसुस गरियो। तर, क्षतिको विवरण अहिलेसम्म छैन,’ उनले भने।
पालिकाका अनुसार एक स्थानमा सुख्खा पहिरो झरेको थियो, जसलाई सशस्त्र प्रहरीको टोलीले बिहानै हटाइसकेको छ। भोटेकोशी गाउँपालिका-१ का वडाध्यक्ष साङ्बु लामाले पनि हालसम्म कुनै ठूलो क्षति नभएको बताएका छन्। भूकम्पको थप विवरण संकलन भइरहेको छ।






