सिन्धुली – नेपालमा काजु भन्नासाथ विदेशबाट आयात हुने महँगो ड्राइफ्रुटको सम्झना गरिन्छ । तर सिन्धुलीको दुधौली नगरपालिका–९ लदाभिरस्थित नमुना माध्यमिक विद्यालयले आफ्नै परिसरमा काजु खेती गरेर नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

कृषि प्राविधिक शिक्षा सञ्चालन गरिरहेको विद्यालयले व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय परिसरमा लगाएको काजु खेती सफल बनेपछि अहिले विद्यालय जिल्लाकै कृषि प्रयोगशालाका रूपमा परिचित बन्दै गएको छ । विद्यालय परिसरमा रहेका काजुका बोटमा लटरम्म फल लागेपछि विद्यार्थी, अभिभावक र स्थानीयवासीसमेत उत्साहित भएका छन् ।

विद्यालयले २०७३ सालमा कृषि प्राविधिक धार सञ्चालनको अनुमति पाएपछि प्रयोगात्मक शिक्षाका लागि विभिन्न फलफूलका बिरुवा रोपेको थियो । तीमध्ये भारतबाट ल्याइएका १० वटा काजुका बिरुवा अहिले पूर्ण रूपमा उत्पादनमा आएका छन् । यहाँ रातो ‘भेनुर्ला’ र पहेँलो ‘उल्लाल’ जातका काजु सफलतापूर्वक फलेका छन् ।

विद्यालयका प्रधानाध्यापक मोहन शाही ठकुरीका अनुसार काजुसँगै सापोटा, ड्रागन फ्रुट, च्याउ खेती, तरकारी तथा फलफूल उत्पादनमा पनि विद्यार्थीलाई सहभागी गराइएको छ । विद्यार्थीहरूले काजु टिप्ने, सुकाउने, प्रशोधन गर्ने तथा जाम–जेली बनाउने सीपसमेत सिकिरहेका छन् ।

वरिष्ठ कृषि प्रशिक्षक सुमन अधिकारीका अनुसार नेपालको अधिकांश क्षेत्रमा काजु खेती सफल हुन नसके पनि दुधौली क्षेत्रको हावापानी यसका लागि उपयुक्त देखिएको छ । विद्यालयमा उत्पादन भएको काजु हेर्न तथा खेतीबारे जानकारी लिन दैनिक सर्वसाधारण पुग्ने गरेका छन् ।

विद्यालयका अनुसार गत वर्ष ५० किलोभन्दा बढी काजु उत्पादन भएको थियो । यस वर्ष सबै १० वटा बोटमा राम्रो फल लागेकाले उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ । विद्यालयले अब स्थानीय किसानलाई काजुका बिरुवा वितरण गर्दै दुधौलीलाई ‘काजु हब’ बनाउने योजना अघि सारेको छ ।

प्रधानाध्यापक ठकुरीका अनुसार कच्चा काजुको बजार मूल्य प्रतिकिलो ८ सय रुपैयाँसम्म पर्ने भएकाले यसको व्यावसायिक सम्भावना उच्च रहेको छ । विद्यालयको यो अभ्यास सफल भए नेपालमै काजु उत्पादन तथा व्यवसाय विस्तारको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय