काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ हिरापानी नजिक बी.पी. राजमार्गमा बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन ।



जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो करिब १२ः५५ बजे काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर ठोक्किएका थिए । बस चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक तत्काल जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेका छन् ।
दुर्घटना स्थल प्रहरी चौकी ढुंग्रेबासबाट करिब एक किलोमिटर पश्चिम तथा जिल्ला प्रहरी कार्यालयबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



