सिन्धुली, साउन १६ — सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा भारी वर्षा र पहिरोका कारण सालको रुख ढलेर छाप्रोमा आश्रय लिएका पाँच बालबालिका च्यापिएका छन्। घटनामा ९ वर्षीया सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटना साउन १६ गते दिउँसो करिब ३स्३० बजे भएको थियो। पानी परिरहेको अवस्थामा ओत लाग्न बसेका बालबालिकालाई सालको रुख अचानक ढलेर छाप्रोमुनि थिचिदिएको थियो। घाइतेमा १४ वर्षीया सिर्जनामाया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीया सुशील थिङ रहेका छन्। घाइतेमध्ये सिर्जनामाया र सन्ध्या भोलनलाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ भने सुशील थिङको स्थानीय झुरझुरेस्थित पाँचपाण्डव पोलिक्लिनिकमा उपचार भइरहेको छ।

घटना भएपछि स्थानीय बासिन्दा र प्रहरीको सहकार्यमा उद्धार अभियान चलाइयो। प्रशासनले निरन्तर वर्षा र पहिरोको जोखिम बढिरहेका कारण सबैलाई सचेत रहन आग्रह गरेको छ।यो घटनाले वर्षा ऋतुमा जोखिम व्यवस्थापन र तत्काल उद्धार तथा बचाउको महत्वलाई पुनः उजागर गरेको छ। प्रशासनले प्रभावित बालबालिकाका परिवारलाई आवश्यक सहयोग र राहत दिने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय