धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर ले पार्टीभित्र भ्रम फैलाउने गतिविधि भइरहेको आरोप लगाउँदै केन्द्रीय नेतृत्वको एक पक्षप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले सभापति गगन थापा पक्षलाई लक्षित गर्दै नयाँ पुस्ताका नेताहरूले पार्टीको इतिहास, संघर्ष र बलिदान नबुझेको टिप्पणी गरे ।

उनले नाम नलिई गगन थापाप्रति व्यङ्ग्य गर्दै भने, “२०४० सालमा जन्मेकाहरूले बीपी कोइरालासँग बनारसमा भेटेको गफ दिइरहेका छन् । यस्तो अप्राकृतिक कुरा गरेर पार्टी चल्दैन ।”बलायरले पार्टी सदस्यता नवीकरण र लेवीसम्बन्धी विषयमा गगन थापाले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । “हिजो महामन्त्री हुँदा सदस्यता नवीकरण गर भनेर परिपत्र गर्ने, आज त्यही विषयमा भ्रम फैलाउने रु रंगीन भाषणले कांग्रेस चल्दैन,” उनले भने ।

सम्बोधनका क्रममा बलायर निकै आक्रोशित देखिएका थिए । उनले आफूहरू शेरबहादुर देउवा को प्रेरणाले राजनीतिमा लागेको उल्लेख गर्दै कुनै व्यक्तिको घमण्डले पार्टी नचल्ने चेतावनी दिए । “हामी देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ । कसैको घमण्डले कांग्रेस चल्दैन,” उनले भने । पार्टी अनुशासनको विषय उठाउँदै बलायरले प्रदेश नेतृत्वको निर्देशन र पार्टीको मापदण्ड नमान्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिए । “जरा उखेल्नेहरूलाई हामी हेरेर बस्दैनौँ । हाम्रो मापदण्ड जसले मान्दैन, उसलाई फ्यात्त फालिदिन्छौँ,” उनले भने ।

कांग्रेस कार्यकर्ताले रगत, पसिना र परिवारको गाँस काटेर पार्टी जोगाएको उल्लेख गर्दै उनले नेताहरूलाई पदको मोह त्याग्न आग्रह गरे । “कांग्रेस कमजोर भएको दिन देशको राष्ट्रियता संकटमा पर्छ । त्यसैले कांग्रेसलाई सिद्ध्याउने खेलविरुद्ध उभिनुपरेको हो,” बलायरले बताए ।धनगढीमा जारी प्रदेशस्तरीय भेलामा संस्थापन पक्षनिकट नेताहरूको बाक्लो उपस्थिति रहेको छ । भेलामा निवर्तमान सभापति देउवा पक्षीय नेताहरू सहभागी भए पनि विशेष महाधिवेशनबाट निर्वाचित प्रदेशका केन्द्रीय सदस्यहरू भने अनुपस्थित छन् ।

प्रदेश सभापति बलायरको अध्यक्षतामा भइरहेको भेलामा प्रमुख अतिथिका रूपमा पूर्वमन्त्री एनपी साउद सहभागी छन् । कार्यक्रममा पूर्वमन्त्रीहरू रमेश लेखक, मोहनबहादुर बस्नेत, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की लगायत नेताहरूको उपस्थिति रहेको छ ।भेलास्थलमा राखिएको ब्यानरमा शेरबहादुर देउवाको तस्बिर राखिएको भए पनि सभापति गगन थापाको तस्बिर नराखिएको विषयले समेत पार्टीभित्रको आन्तरिक ध्रुवीकरणलाई थप स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय