गत जेठ १९ गते सुनकोशी नदीमा खसेको बी एबी ७४६७ नम्बरको स्कर्पियो फेला परेको छ । उक्त गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका तीन जना अधिकारी सवार थिए । गाडीसँगै दुई जनाको शव पनि भेटिएको छ ।
सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको स्कर्पियो गत शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । दुर्घटना ग्रस्त क्षेत्रमा सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले जोखि गरेको थियो । तर पानीको बहाब कम नभएपछि सुनकोशी नदीको पानीको भंगालोलाई अर्कोतिर मोडि खोजी गरिएपछि गाडीसँगै दुई जनाको शव भेटिएको हो ।



भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको स्कर्पियोमा पूर्वी नवलपरासीको प्रगति–७ का योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल, प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल गाडीमा सवार थिए ।
दुर्घटना ग्रस्त क्षेत्रबाट अझै एक जना नभेटिएपछि खोजी कार्य भइरहेको छ भने भेटिएका दुई जनाको पनि सनाखत हुन सकेको छैन ।



