सुनसरी, सिराहालगायत जिल्लामा भएका घटनापछि बाँकेको नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन्।
भारतको रुपैडिहा थानाका प्रमुख प्रहरी निरीक्षक हरेन्द्रकुमार मिश्रका अनुसार एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुरसहित संयुक्त गस्ती सञ्चालन गरिरहेका छन्। सीमा क्षेत्रबाट शान्ति–सुरक्षामा असर पर्ने गतिविधि हुन नदिन निगरानी बढाइएको उनले बताए।



बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि सीमा नाकाको सुरक्षा थप सुदृढ पारिएको जानकारी दिए। उनका अनुसार दुवै देशका सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य भइरहेको छ।
सशस्त्र प्रहरीले सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिका लागि परिचयपत्र अनिवार्य गरिएको तथा नाम–ठेगाना अभिलेखीकरण सुरु गरिएको जनाएको छ। भारततर्फ पनि एसएसबीले परिचयपत्र अनिवार्य गरी चेकजाँच कडा बनाएको रुपैडिहा प्रहरीले जनाएको छ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठका अनुसार सुरक्षा कडाइसँगै सीमा नाकाबाट हुने अनावश्यक आवतजावत घटेको छ। खुला सीमाको दुरुपयोग गरी हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि यस्तो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ।



