नेपालको अन्तरिम सरकारकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालयबाट शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएकी कार्कीले आज औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्। पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर देशका लागि बलिदान दिने वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। उनले शहीदको सपना साकार पार्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
पदभार ग्रहण समारोहमा उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न दलका नेताहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
पदभार ग्रहणपश्चात बोल्दै प्रधानमन्त्री कार्कीले देशमा सुशासन, पारदर्शिता, विधिको शासन र न्याय प्रणालीको मजबुती आफ्नो सरकारको मुख्य प्राथमिकता हुने बताइन्। उनले आगामी निर्वाचनसम्म निष्पक्ष र स्वच्छ ढंगले सरकार सञ्चालन गर्ने दृढता व्यक्त गरिन्। सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश भइसकेकी थिइन्। अब उनी नेपालको पहिलो महिला अन्तरिम प्रधानमन्त्री बनेकी छन्, जुन नेपालको राजनीतिक इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।






