काठमाडौं । सेतो मछिन्द्रनाथको महास्नान काठमाडौंको केलटोलस्थित जन बहाः मा विशेष मण्डपमा विधिपूर्वक गरिएको छ । शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो । यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ ।
हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ । मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ । त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधिअनुसार नुहाईदिने गरिन्छ ।



सेतो मछिन्द्रनाथलाई नुहाईदिँदा मानवजातिमा परिवर्तन र नयाँ ऊर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ ।



