काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काबाट पटक–पटक सोधिएको स्पष्टिकरणलाई अनावश्यक हैरानीको रूपमा व्याख्या गरेका छन्। घिसिङले लिखित जवाफ दिँदै आफू मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएको र उनलाई हटाउने अधिकार मन्त्रालय वा मन्त्रीसँग नरहेको प्रष्ट पारेका छन्। ऊर्जामन्त्री खड्काले घिसिङलाई पदबाट किन नहटाउने भनी दोस्रोपटक स्पष्टिकरण सोधेका थिए। जवाफमा घिसिङले कानुनी प्रावधान उल्लेख गर्दै मन्त्रीको कदम अनुचित रहेको बताएका छन्। उनले “राम्रो काम गर्दा सहयोग गर्नुपर्ने ठाउँमा उल्टै बारम्बार स्पष्टिकरण सोधेर दुःख र हैरानी दिने कार्य भइरहेको” गुनासो गरेका छन्।

कारबाहीको नियतले बाधा पुर्‍याइयो : घिसिङ
घिसिङले आफ्नो जवाफमा छ बुँदे तर्क प्रस्तुत गर्दै आफूमाथि जसरी पनि कारबाही गर्ने नियतले विदा स्वीकृतिसहितका प्रशासनिक कार्यमा अवरोध सिर्जना गरिएको दाबी गरेका छन्। उनले लेखेका छन्, “म मन्त्रीपरिषद्को निर्णयअनुसार चार वर्षका लागि नियुक्त भएको हुँ। मलाई सेवाबाट हटाउने अधिकार मन्त्रालय वा मन्त्रीसँग छैन।” उनले सरकारका नियम, ऐन तथा विद्युत प्राधिकरणसम्बन्धी विनियम उल्लेख गर्दै स्पष्टिकरण सोध्ने निर्णय नै गलत भएको तर्क प्रस्तुत गरेका छन्।

ऊर्जामन्त्री खड्काको नियतमाथि प्रश्न
ऊर्जामन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई बारम्बार स्पष्टिकरण सोध्नुले सरकारभित्रै द्वन्द्व भएको देखिएको छ। यस विषयमा सरोकारवालाहरूले मन्त्रीको नियतमाथि प्रश्न उठाएका छन्। कुलमान घिसिङको जवाफपछि ऊर्जा क्षेत्रभित्रको विवाद अझ चर्कने देखिएको छ। यसबारे मन्त्री खड्काले थप प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय