स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा नेपालबाट भिसा प्रबन्ध गरिएका केही व्यक्तिहरू गैरकानुनी रूपमा युरोप पठाइएको आशंकापछि गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा आकस्मिक बैठक आह्वान गर्नुभएको छ। गृह मन्त्रालयमा सोमबार दिउँसो साढे १ बजे बोलाइएको उक्त बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, केन्द्रीय अनुसन्धान ब्युरो CIB प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण पंगेनी तथा अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल सहभागी हुँदैछन्।

गृह मन्त्रालय स्रोतका अनुसार, बैठकमा विशेषगरी कुन गैरसरकारी संस्था NGO वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था INGO ले अनधिकृत रूपमा पैसा उठाएर व्यक्तिहरूलाई युरोप पठाउने कार्यमा संलग्न भयो भन्ने विषयमा छानबिन अघि बढाइनेछ। गृहमन्त्री लेखकले सोमबार बिहान नै गृहसचिव र प्रहरी प्रमुखलाई बोलाएर प्रारम्भिक निर्देशन दिँदै, “यस्तो संवेदनशील विषयमा निष्पक्ष र गहिरो अनुसन्धान हुनैपर्छ,” भन्नुभएको थियो।

सरकारी भ्रमणलाई आड बनाइ मानव तस्करी ?
यो प्रकरण प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार १४ गते सम्पन्न स्पेन भ्रमणसँग सम्बन्धित मानिएको छ। प्रधानमन्त्रीको सरकारी टोलीसँगै गैरसरकारी संस्थाहरूको नाममा अन्य धेरै व्यक्ति स्पेन गएका थिए। प्रारम्भिक सूचनामा केही व्यक्तिहरू सरकारी प्रतिनिधिमण्डलमा नराखी, राष्ट्रसंघीय कार्यक्रमको नाममा भिजिट भिसामार्फत युरोप पुगेको देखिएको छ।

यसरी भिसा प्रक्रिया र भ्रमण व्यवस्थापन कुन संस्था वा व्यक्तिको संलग्नतामा भयो, कसरी अनुमति लिइयो, र कति शुल्क लिइयो भन्नेबारे यथाशीघ्र विवरण संकलन गरेर कानुनी प्रक्रिया अघि बढाइने गृह मन्त्रालयले जनाएको छ।

अनुसन्धानको जिम्मा सीआईबी र मानव बेचबिखन ब्युरोलाई
गृहमन्त्रालयले यस विषयमा आवश्यक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई विशेष जिम्मेवारी दिने निर्णय गरेको छ। अध्यागमन विभागसँग सम्बन्धित विवरण, विदेश गएकाहरूको नामावली, प्रवेश र निकास मिति आदिसमेत संकलन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय