सिरहाको माडरबाट प्रहरीले स्रोत नखुलेको ४४ लाख रुपैयाँ सहित दुई जना पक्राउ गरेको छ । प्रहरीले भारतको जयनगरबाट नेपाल तर्फ आउदै गरेको दुई जना व्यक्तिलाई ४४ लाख नगद सहित नियन्त्रणमा लिएको हो ।
शुक्रबार गोप्य सूचनाको अधारमा प्रहरी चौकी खिरौनाबाट प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादव र ईलाका प्रहरी कार्यालय माडरबाट प्रहरी नायव निरीक्षक अमित कुमार रायको कमाण्डमा खटिगएको संयुक्त टोलीले सिरहा नगरपालिका वडा नं. १७ माडर काली चौकबाट कार चालक सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव र सोही कारमा सवार सिरहा नगरपालिका वडा नं. ७ हेमनारायण चौक बस्ने ४२ वर्षीय संजय कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



भारतको जयनगरबाट नेपाल तर्फ आउदै गरेको बीआर ७ सि ४२२४ नम्बरको हुन्डाइ सेन्ट्रो कारलाई रोकीचेकजाँच गर्दा कारको आगाडीको सिट मुनीको भागमाघर्रा जडान गरी घर्रा भित्र कालो प्लास्टिकमा लुकाई छिपाई ल्याएको स्रोतनखुलेका नेपाली ४४ लाख रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रबिन्द्र राज पाण्डेले जानकारी दिएकाछन् ।
स्रोत नखुलेको रकम, हुन्डाइ सेन्ट्रो कार सहित कार चालक प्रेम कुमार यादव र सोही कारमा सवार संजय कुमार साहलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय, ईटहरी बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।



