काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने दिशामा सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बुधबार सम्बन्धित निकायसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न, गरिब, अपांग तथा अशक्त वर्गका लागि लक्षित भएकाले यसलाई सामान्य विषय नभई आपत्कालीन अवस्थाजस्तै लिएर समाधान गर्नुपर्ने बताइन्। प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीसँग छलफल गरेर आवश्यक बजेटको व्यवस्था गर्न ढिलाइ नगर्ने स्पष्ट पारिन्। अर्थमन्त्री हाल विदेश भ्रमणमा रहेकाले फर्किएपछि आवश्यक बैठक बसेर ऋण लिएर भए पनि समस्या समाधान गरिने उनको भनाइ थियो। नागरिकको स्वास्थ्य संकट अनिकालजस्तै गम्भीर हुने उल्लेख गर्दै उनले कुनै न कुनै उपाय निकाल्नैपर्ने बताइन्। स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन कडा नियमन आवश्यक रहेको प्रधानमन्त्रीको जोड थियो।



हाल ठूलो रकम खर्च भइरहे पनि लक्षित वर्गले अपेक्षित सेवा नपाएको भन्दै उनले कार्यक्रम एकद्वार प्रणालीमार्फत पारदर्शी र न्यायोचित रूपमा सञ्चालन गर्नुपर्ने बताइन्। सरकारले स्वास्थ्य बीमालाई छाडा रूपमा सञ्चालन गर्न नहुने र स्पष्ट नियम, नियमन तथा निगरानीका साथ अघि बढाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जुनसुकै उपाय अपनाएर पनि समस्या समाधान गरिने विश्वास व्यक्त गरिन्।



