काठमाडौं । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएका मध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् ।

ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमिततामा संलग्न भएको पाइएपछि सेवाबाट बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाइएको छ ।

मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर आएको हो । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि ती बिरामीको बीमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि ती बिरामीले अस्पताल प्रशासनमा उजुरी दिएका थिए । लिखित उजुरी प्राप्त भएपछि अस्पतालले छानबिन समिति गठन गरी अनुसन्धान गरेको थियो ।
अस्पताल प्रशासनले बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि छानबिन समितिको प्रतिवेदनमा उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित भएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय