हनी ट्रयापमा पारेर काठमाडौँको किर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ भने तीनजनाले सफाई पाएका छन । हनी ट्रयापमा पार्ने मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरी जिल्ला गौशला नगरपालिका–६ घरभई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङ गलकोट नगरपालिका–७ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने प्रतिक गौतमलाई जन्मकैदको फैसला भएको हो । प्रतिवादीहरु रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले सफाई पाएका छन् ।
सोमबार काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनीहरूलाई जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् । उनीहरुबाट २—२ लाख रुपैयाँका दरले जरिवानाको फैसला पनि अदालतले गरेको छ । उनीहरुबाट जनही २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ ।



यो प्रकरणमा मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौँ शङ्करापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार रहेका छन् ।



