काठमाडौं । ‘हनी ट्रयाप’ प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही जोडिएको र नेपाल प्रहरीका एसपी कमल थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि थप अनुसन्धानका प्रहरी प्रधान कार्यालयले सीआईबीलाई जिम्मेवारी दिएको हो ।
गत असोज ६ गते प्रहरी प्रभाग भैंसेपाटीमा इन्स्पेक्टरकै संलग्नतामा प्रहरी चौकीमै लेनदेन भएको भन्ने विषय बाहिर आएपछि उनीहरुमाथी छानविन सुरुभएको थियो । ललितपुरका एसएसपी शेखर खनालले छानबिन प्रकृया अघि बढाएसँगै इन्स्पेक्टर शाहीको शंकास्पद भूमिका देखिएसँगै प्रतिवादी बनाई पक्राउ पूर्जी जारी भएसँगै शाही फरार छिन् । ललितपुर प्रहरीको छानबिन समितिको छानविनको क्रममा शाहीले आरोपी ताज इस्लामसँग एसपी कमल थापाले चिनजान गराइदिएको खुलेको थियो ।



आरोपी इस्लामको समूहले एक जना युवती प्रयोग गरेर पूर्वका व्यवसायीसँग बलात्कारको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गरेको थियो । प्रहरी समेतको संलग्नतामा ६० लाख रुपैयाँबाट बार्गेनिङ भएपनि ३० लाख रुपैयाँमा सहमति भएको अनुसन्धानबाट खुलेको छ । सहमतिसँगै ७ लाख व्यवसायीले इस्लामले भनेका व्यक्ति भीमादेवी बुढाथोकीको नाममा बैंकमा रकम जम्मा गरिदिएका थिए ।
इन्स्पेक्टर शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल पनि बैंकमा पैसा जम्मा गर्न जाँदा व्यवसायीसँगै बैंक पुगेको खुलेपछि ललितपुर प्रहरीले हमाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।



