काठमाडौँ- आसार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरका नारायण मन्दिरमा भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान् विष्णुको पूजा आराधना र दर्शनका लागि बिहानैदेखि भक्तजनहरू मन्दिर पुगेका हुन्। धार्मिक मान्यताअनुसार हरिशयनी एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ। यस दिनदेखि चार महिनासम्मको अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मास अवधिमा धेरै भक्तजनले व्रत बस्ने, तुलसी पूजा गर्ने र धार्मिक अनुष्ठान गर्ने परम्परा रहेको छ।

काठमाडौँ उपत्यकाका प्रसिद्ध चार नारायण मन्दिर—चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। धार्मिक विश्वासअनुसार आज र हरिबोधिनी एकादशीका दिन चार नारायणको दर्शन तथा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। चार नारायण पुग्न नसक्ने भक्तजन बूढानीलकण्ठ नारायणस्थानमा दर्शन गर्न पुगेका छन्। बूढानीलकण्ठमा रहेको जलकुण्डमाथिको भगवान् नारायणको मूर्ति दर्शनका लागि स्थानीयसँगै बाह्य पर्यटकको समेत भीड लाग्ने गरेको छ।

यसैगरी दरबारमार्गस्थित नारायणहिटी क्षेत्रको चतुव्र्युह नारायण मन्दिरमा पनि भक्तजनको चहलपहल बढेको छ। मन्दिरका अनुसार यहाँ चारै नारायणका मूर्ति रहेकाले दर्शन गरे चार नारायणको दर्शन गरेसरह फल प्राप्त हुने धार्मिक विश्वास छ। बूढानीलकण्ठ नारायणस्थानमा दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै मन्दिरको ढोका खुला गरिएको थियो। उपत्यकाका अन्य नारायण मन्दिर, पशुपति क्षेत्र, नारायणटार, हाँडीगाउँ र वसन्तपुर क्षेत्रका मन्दिरमा समेत भक्तजनको भीड लागेको छ। हरिशयनी एकादशीदेखि सुरु हुने धार्मिक गतिविधि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म जारी रहने परम्परा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय