काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सले जतिसक्दो छिटो सेवा सुचारु गर्ने बताएको छ । हिल्सद्वारा आज जारी विज्ञप्तिमा जेनजी प्रदर्शनका क्रममा गत मंगलबार अन्य स्थानहरुमा जस्तै हिल्सलाई पनि निशाना बनाई तोडफोड र आगजनी गरिँदा केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– यद्यपी हाम्रो अठोट कमजोर भएको छैन, गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रबद्र्धनमा कत्तिपनि विचलित नभई जतिसक्दो छिटो सेवा सुचारु गर्ने उल्लेख गरिएको छ । हिल्सले आम जनसमुदायले देखाएको सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत मुलुकको मुहार फेर्ने सपना र अठोट अझै मजबुत बनेको बताउँदै छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेको छ । यस कठिन परिस्थितिमा हिल्ससँग जोडिएका कर्मचारी, कर्मचारीका परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुने र आगामी दिनमा व्यावसायिक वातावरण सहज बन्ने अपेक्षा गरिएको छ ।




साथै हिल्सद्वारा जारी विज्ञप्तिमा अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहने उल्लेख गरिएको छ । कठिन समयमा क्षति कम गराउन र आगजनी नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी, कार्यरत कर्मचारी र स्थानीय समुदायले देखाएको सक्रिय सहयोग र तदारुकताप्रति हिल्सले आभार प्रकट गरेको छ ।



