सिन्धुली — जिल्ला सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा चाइनिज र स्थानीय कामदारबीच कुटपिट हुँदा सात जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कपिलाकोटका अनुसार मिति २०८२-११।-११ गते बिहान ०८:४९ बजे स्थानीय कामदार नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर विवाद सुरु भई झडप भएको हो। उक्त खबर ९:२० बजे प्रहरीमा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी कर्मचारी र १५ जना निर्वाचन प्रहरी टोली खटिएको थियो।
झडपमा घाइते भएकाहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय कपिलाकोटबाट करिब ३ किलोमिटर पश्चिममा पर्छ। घाइते हुनेहरूमा मरिण गाउँपालिका–६ धमिले बस्ने ३० वर्षीय नवराज बम्जन रहेका छन्। उनको दायाँ आँखामा र दायाँ खुट्टामा चोट लागेको छ र थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ।



यस्तै उदयपुर कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको छ। कम्पनीमा कार्यरत चिनियाँ नागरिकमध्ये ३८ वर्षीय मिस्टर याङ (कान र टाउकोमा चोट), ४५ वर्षीय याङ हाईबो (बायाँ हातमा चोट), ४० वर्षीय छ्याङ छोङ (छातीमा चोट), ४६ वर्षीय चुजेन (टाउको र मुखमा चोट) र ३१ वर्षीय लेउसेन्सी (टाउकोमा मध्यम चोट) घाइते भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



