काठमाडौं । हेटौंडा बजारको मुख्य सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले भत्काएका संरचनाका कारण बजार क्षेत्रमा सुरक्षा जोखिम बढेको छ । सडक विस्तारका क्रममा भत्काइएको घर सफा गर्ने क्रममा एक जना कामदार घाइते भएका छन् ।

सफा गर्ने क्रममा घरको दुई तले ढलान एक्कासी भत्किएर तल खसेपछि रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा निवासी, हाल हेटौंडा–१० बुद्ध चोकमा बस्दै आएका १९ वर्षीय जितेन्द्र माझी घाइते भएका हुन् । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका माझीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको हेटौंडास्थित सन्चो अस्पतालमा उपचार भैरहेको छ । सडक सीमाभित्र परेका घर–टहरा भत्किँदा बनेका भग्नावशेष, आधा झरेका भवनका भाग, असरल्ल झुन्डिएका तार तथा फुटपाथमै थुप्रिएका सामग्रीले आवतजावत निकै जटिल बनेको स्थानीयले बताएका छन् । फुटपाथमा नै ढलेका विद्युत् पोल, झुन्डिएका बिजुली तथा इन्टरनेटका तार, सडकमा छरिएका असरल्ल तार, सडक किनारमा ढलेका अशोकका रुख र थुप्रिएका इँटा–रड तथा ढलानका टुक्राका कारण पैदल यात्रुहरू मुख्य सडकमै हिड्न बाध्य छन् । अस्पताललगायत अत्यावश्यक सेवातर्फ जाने मुख्य बाटो भएकाले बिरामी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू थप समस्यामा परेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चोकदेखि सामरी पुलसम्मका सडक खण्डमा मध्य रेखादेखि २५÷२५ गजभित्रका संरचना हटाउन सडक डिभिजन कार्यालयले मङ्सिर ५ गते १५ दिने सूचना जारी गरेको थियो ।

तोकिएको अवधि सकिँदासम्म संरचना नहटाएपछि शनिवार करिब ५ सयभन्दा बढी संरचना डोजरले भत्काइएको थियो । तर, सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेश प्राप्त भएपछि विस्तार कार्य हाललाई स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय