झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
पीडितले भने–‘हाम्रो जीवन वर्वाद गरिदियो’



भदौ १ गते महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए ।
सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । हुँदै नभएको घटनालाई अतिरञ्जित गरेर हाम्रो जीवन वर्वाद गरिदियो भन्दै उजुरी दिन आएको डिएसपी आर्चायले बताए ।
उनले भने–‘उनीहरूले कुनै एउटा होटलमा गएर खाजा खाए । त्यहाँ केही युटुवरहरु अनधिकृत रूपमा प्रवेश गरेर उनीहरूले व्यक्तिगत जिवन जिइरहेको कुरालाई उनीहरूले सार्वजनिक गरेर बेइज्जत गरिदिए । महिलाहरू हाम्रो संसारभर पुग्ने गरी बेइज्जत गरिदियो भन्दै मानसिक तनावमा छन् । उनीहरूले त्यहाँ आपत्तिजनक क्रियाकलाप पनि गरेका थिएनन् । एकजना महिला अपाङ्ग पनि छिन् । सँगै खाजा खाएको विषयलाई अतिरञ्जित गरिदियो भन्ने महिलाहरूको भनाइ छ । उहाँहरूले होटल सञ्चालकसहित अभद्र मुद्दा ल्याउनुभएको छ । उनीहरूमध्ये २ जनाले टिकटकमा भिडियो हालेर बेइज्जत गरेको पाइएको छ ।’
राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्षसमेत रहेका युट्युबर खगेन्द्र घिमिरेसहित ३ जना थुनामा रहेको र अन्यको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।



