काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १० को सहकार्य तथा ह्वाइट क्रियसन ग्रुपको आयोजनामा प्रथम चन्द्रागिरि नयाःखिं बाजा प्रदर्शन तथा प्रवद्र्धन २०८२ चन्द्रागिरि नगरपालिका–स्थित बोसिँगाउँमा सम्पन्न भएको छ ।
नेवार समुदायको मौलिक सांगीतिक पहिचान नयाःखिं बाजाको संरक्षण, संवद्र्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा चन्द्रागिरि क्षेत्रका साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आएका नयाःखिं बाजा समूहहरूको सहभागिता रहेको थियो ।



कार्यक्रममा सहभागी समूहहरूले नयाःखिं बाजाका परम्परागत ताल, धुन र समूहगत प्रस्तुति देखाएका थिए । साथै, बाजाको ऐतिहासिक महत्व, धार्मिक तथा सांस्कृतिक प्रयोग, र यसको संरक्षणका उपायबारे जानकारीमूलक प्रस्तुति पनि दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले आधुनिकताका कारण लोपोन्मुख अवस्थामा पुगेका परम्परागत बाजागाजाको संरक्षण आजको आवश्यकता भएको बताए । उनीहरूले यस्ता कार्यक्रमले स्थानीय कला–संस्कृतिको पहिचान जोगाउनुका साथै युवा पुस्तालाई परम्पराप्रति आकर्षित गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
आयोजक ह्वाइट क्रियसन ग्रुपका अनुसार नयाःखिं बाजालाई स्थानीय पर्व, जात्रा तथा सांस्कृतिक समारोहसँग जोड्दै दीर्घकालीन रूपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय कलाकार, संस्कृतिकर्मी, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।



