नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आजदेखि बन्द सत्र शुरु हुँदैछ ।काठमाडौंको भृकुटीमण्डपम बन्दसत्र सञ्चालन हुनेछ । हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज र भोलि सञ्चालन गरिने एमालेले जनाएको छ ।बन्दसत्र शुरु हुनुअघि अन्तिम केन्द्रीय कमिटीको बैठक बस्दै छ । नेतृत्व चयन सहज बनाउन भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बस्न लागेको बताइएको छ । केन्द्रीय कमिटी बैठक पछि बन्दसत्र दिउँसो सुरु गर्ने तयारी गरिएको छ ।

बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव एक, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । बन्दसत्रमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ । अध्यक्षमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । यद्यपि नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ । महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भैसकेको छ ।

त्यस्तै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ । नेतृत्व चयनका लागि अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल समूहबीच रस्साकसी देखिएको छ। यद्यपि बन्दसत्र सुरु हुनै लाग्दा पनि दुवै पक्षले प्यानल घोषणा गरिसकेका छैनन्। पदाधिकारी र केन्द्रीय कमिटीको संख्यामा विवाद, युवा प्रतिनिधित्वको माग, तथा विधान संशोधनका विषयमा पार्टीभित्र बहस चर्किएको छ। अध्यक्ष ओलीले विधान संशोधनमार्फत उपाध्यक्ष र सचिवको संख्या बढाएर क्रमशः पाँच र नौ बनाउने, केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने तयारी गर्नु भएको थियो । यसकै लागि शुक्रबार सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावमा छलफल भएको थियो । त्यसमा वरिष्ठ उपाध्यक्ष पोखरेललगायतले विरोध गरेका थिए ।

बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत तथा पूर्ण छलफल हुनेछ। साथै आगामी कार्यदिशा, सांगठनिक सुदृढीकरण र नेतृत्व चयनसँग सम्बन्धित विषयहरूमा गहन बहस हुने तयारी छ। एमालेले बन्दसत्रमार्फत उठेका सुझाव र निष्कर्षलाई पार्टीको भावी रणनीतिमा समेट्दै जनतामुखी र संगठन सुदृढीकरणतर्फ अघि बढ्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय