काठमाडौं । लामो समयदेखि प्रतीक्षामा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब क्रमशः सेवाग्राहीको हातमा पुग्न थालेको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, कास्कीले सन् २०२३ यता रोकिएका ठूलो संख्याका ‘ब्याकलग’ लाइसेन्स वितरण प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले नयाँ आवेदन, नवीकरण तथा वर्ग थपका सेवाग्राहीमध्ये राजस्व बुझाइसकेका व्यक्तिको लाइसेन्स कार्यालयमा आइपुगेपछि वितरण कार्य अघि बढाइएको जनाएको छ । हाल विशेषगरी वैशाख महिनामा राजस्व बुझाएका सेवाग्राहीलाई प्राथमिकतामा राखेर लाइसेन्स उपलब्ध गराउन थालिएको कार्यालयले जनाएको छ ।

सरकारले केही समयअघि लाइसेन्स छपाइ प्रक्रियालाई छिटो बनाउने उद्देश्यसहित आवेदन स्वीकृत भएको २४ घण्टाभित्र कार्ड प्रिन्ट गर्ने व्यवस्था लागू गरेको थियो । सोही प्रणाली अन्तर्गत छापिएका लाइसेन्स कास्की कार्यालयमा पहिलो पटक ठूलो संख्यामा पुगेपछि वितरण सुरु गरिएको हो ।

२४ घण्टाभित्र लाइसेन्स तयार हुने सरकारी घोषणापछि सेवाग्राहीले तत्काल कार्ड हात पार्ने अपेक्षा गरेका थिए । तर, व्यवहारमा भने छपाइ सम्पन्न भए पनि सम्बन्धित कार्यालयसम्म ढुवानी, विवरण प्रमाणीकरण तथा प्रशासनिक प्रक्रियाका कारण कार्ड वितरणमा थप समय लागेको देखिएको छ ।

पछिल्ला वर्षहरूमा स्मार्ट लाइसेन्स छपाइमा देखिएको ढिलाइ सेवाग्राहीका लागि ठूलो समस्या बनेको थियो । लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेपछि पनि धेरैले वर्षौँसम्म अस्थायी कागजकै भरमा सवारी चलाउनुपरेको अवस्था थियो । नवीकरण र वर्ग थप गरेका व्यक्तिहरू समेत लामो समय कार्ड नपाउँदा दैनिक कामकाजमा कठिनाइ भोगिरहेका थिए ।

विभागले अनलाइन प्रणालीमार्फत लाइसेन्सको प्रिन्ट अवस्था, वितरण केन्द्र तथा अन्य विवरण हेर्न सकिने व्यवस्था गरेको छ । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय