सिरहा – हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ कि सक्दैन भन्ने लाग्न थालेको थियो । तर २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेपछि टुटिसकेको आशा फेरि जागेको छ ।सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवका दाइ पाण्डव यादवले मुख्य अभियुक्त पक्राउ परेपछि यस्तो प्रतिक्रिया दिए । मदिरा तस्करी रोक्ने क्रममा सई यादवको हत्या भएको २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेपछि परिवारमा न्यायको आशा फेरि जागेको हो ।

‘मुख्य अभियुक्त पक्राउ परेको खबरले हामीलाई ठूलो राहत मिलेको छ,’ पाण्डवले भने, ‘अब घटनामा संलग्न अरू व्यक्तिलाई पनि पक्राउ गरेर हामीलाई न्याय दिनुपर्छ ।यादवका सालो रञ्जित यादवले पनि मुख्य अभियुक्त पक्राउसँगै परिवारको न्यायप्रतिको आशा बलियो भएको बताए ।‘नागरिक अन्यायमा पर्दा प्रहरीले सुरक्षा दिन्छ र अन्याय गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउँछ । तर प्रहरीलाई नै हत्या हुँदा नागरिक र प्रहरीबीचको विश्वासमा असर पर्न सक्छ, उनले भने,२२ महिनापछि मुख्य अभियुक्त पक्राउ पर्दा मरेजस्तै भएको हाम्रो आशा फेरि जागेको छ ।उनले घटनामा संलग्न सबै व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन राज्यसँग आग्रह गरे ।

के भएको थियो सई यादवको हत्या ?
भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोली खटिएको थियो ।बीओपी बडहरी बरियारपट्टीबाट सई यादवको नेतृत्वमा खटिएको टोलीले डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारी रोक्न खोजेको थियो । प्रहरीका अनुसार गाडीका चालकले ड्युटीमा रहेका सई यादवलाई ठक्कर दिएर फरार भएका थिए ।
गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि गाडीमा सवार व्यक्तिहरू फरार भएका थिए । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिहरूको खोजी गरिरहेको थियो ।

२२ महिनापछि मुख्य अभियुक्त पक्राउ
घटनाको २२ महिनापछि प्रहरीले भारत बिहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई शुक्रबार बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार कुरवान घटनामा प्रयोग भएको टाटा सफारीका धनी तथा चालक हुन् ।कुरवानसहित तीन जना सीमा क्षेत्रबाट भाग्न खोजेपछि इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो ।त्यस क्रममा प्रहरीलाई लक्षित गरी एक राउन्ड गोली चलाइएको र जवाफी कारबाहीमा प्रहरीले तीन राउन्ड गोली चलाएको प्रहरीको भनाइ छ । प्रहरीको गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको थियो ।
पक्राउ परेका कुरवानलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएको थियो । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
फरार व्यक्तिलाई पनि चाँडै पक्राउ गर्छौँ’´एसपी पाठक`

मुख्य अभियुक्त पक्राउपछि शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक, सशस्त्र प्रहरीका एसपी सुमनजंग थापालगायत सुरक्षा निकायका अधिकारी यादवको घर पुगेका थिए ।परिवारसँगको भेटमा उनीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए ।एसपी पाठकले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको बताए । ‘मुख्य अभियुक्तलाई प्रहरीले २२ महिनापछि पक्राउ गरिसकेको छ ।पक्राउ गरेका ब्यक्तिमाथी संगठित अपराध र ज्यान सम्बन्धी कसुरमा मुदामा अनुसन्धान अर्का एक जना अझै फरार छन् । उनको पनि खोजी भइरहेको छ,पाठकले भने,चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याउँछौँ र पीडित परिवारलाई न्याय दिलाउँछौँ ।मुख्य अभियुक्त पक्राउसँगै प्रहरीले घटनाको अनुसन्धान थप अघि बढाएको जनाएको छ । फरार रहेका अन्य व्यक्तिको खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय