काठमाडौं । प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो ।
यससम्बन्धी थप जानकारी आउनेक्रम जारी रहेको उहाँले बताउनु भयो । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको आयोगले जनाएको छ ।



समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते शनिबार समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने छ ।
प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ ।



