काठमाडौं । जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरण गर्दै ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सेनाले विभिन्न कलाकौशलको आयोजना गर्नेछ । सेनाले देखाउने कलाकौशल कार्यक्रममा राष्ट्रप्रमुख जाने गर्दछन् । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनु हुनेछ ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए ।



२००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणाशासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात भएको थियो । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रत्येक वर्ष सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । नेपालमा फागुन ७ मा प्रजातन्त्र दिवस, वैशाख ११ मा लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ ।



