काठमाडौं । केही सातादेखिको विवादका बीच देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विभाजित भएको छ । सभापति शेरबहादुर देउवाको निर्देशनमा दुई महामन्त्री र एक सहमहामन्त्रीलाई संस्थापन पक्षले पार्टीबाटै निस्कासन गरेपछि कांग्रेस औपचारिक रूपमा विभाजित भएको हो ।



त्यसअघि सभापति देउवा पद छाड्न तयार हुनु भएन बरू कारबाहीका लागि अघि बढ्नुभयो । महमन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संस्थापनको कारबाही खारेज गर्नु भएको छ र आफूहरू नै आधिकारिक कांग्रेस भएको बताउनुभएको छ । करिब ८० वर्षका शेरबहादुर देउवा पछि हट्न तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ । सहमतिका लागि दुई दिनसम्म भएका प्रयास असफल हुँदा संस्थापन पक्ष कारबाहीमा उत्रियो । बुधबार बिहान ८ बजेका लागि संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठक अपरान्ह मात्रै बस्यो र तीन नेतालाई पाँच वर्षका लागि निस्कासन गरेको निर्णय सुनायो । पार्टी फूटन नदिन भन्दै बुधबार दिनभर विभिन्न चरणमा वार्ता र छलफल भएका थिए । तर, संस्थापन पक्ष आफ्नो अडानबाट टस कि मस भएन ।
दिउँसो सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले ८ बुँदे पत्र पठायो । तर त्यसलाई मान्न संस्थापन पक्ष तयार भएन । उक्त प्रस्तावमा भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु पर्ने, सभापति देउवा पार्टीका कामबाट निस्क्रिय रहनु पर्ने, अर्को महाधिवेशन नहुञ्जेल अन्तरिम अवधिसम्म पार्टीका मुख्य निर्णय गर्न हाई कमान्डु बनाउने लगायतका प्रस्ताव थिए । यी प्रस्ताव संस्थापनले अश्विकार मात्रै गरेर बैठक बसेर महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यबाटै निस्कासन गर्ने निर्णय गर्यो । यो निर्णय लगत्तै विशेष महाधिवेशन स्थल भृकुटीमण्डमा सभापतिविरुद्ध नाराबाजी सुरू भयो । महामन्त्री थापाले देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको भन्दै त्यसले गरेको कारबाही खारेज गर्नुभयो । उहाँले आफूहरू नै आधिकारिक कांग्रेस भएको भन्दै प्रतिनिधिलाई ढुक्क हुन आव्हान पनि गर्नुभयो । संस्थापनले कारबाहीको निर्णय गरेपछि विशेष महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापाप्रतिको समर्थन दोहोर्याउनुभयो । उहाँले अब गगनको नेतृत्वमा देश र पार्टी बदल्ने उद्घोष पनि गर्नुभयो ।
जेनजी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिबाट विश्राम लिने भन्दै पूर्णबहादुर खड्कालाई कार्यवाहक दिनुभयो । तर सिंगापुरमा उपचार गराएर फर्किएपछि फरि सक्रिय भएपछि पार्टीमा विवाद बढेको थियो । नियमित र विशेष महाधिवेशनको विवाद पनि चर्कँदै गयो । त्यसकै उत्कर्षका रूपमा अहिले कांग्रेस दुई टुक्रा भएको छ । अब यसको आधिकारिकता कसले पाउला भन्ने चासो सबैतिर छ । निर्वाचन आयोगले पुस ६ गते उम्मेदवार मनोनयन गर्नुअघि नै यो विवादमा निर्णय दिनु पर्नेछ ।



