काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा देशभरबाट ३७ हजारभन्दा बढी उजुरी परेका छन् । जसमध्ये ८० प्रतिशतभन्दा बढी उजुरी फछ्र्यौट गरिएको आयोगले जनाएको छ । यही तथ्य सार्वजनिक गर्दै हेटौँडामा आयोगको ३५ औँ स्थापना दिवस मनाइएको छ ।



आर्थिक बर्ष २०८१–८२ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त ३७०२६ उजुरीहरू मध्ये करिब ८०.२२ प्रतिशत फछ्यौट गरी ७३२३ उजुरीहरू चालू आर्थिक वर्षमा सरी आएका छन् । आयोगको तर्फबाट गत वर्ष १३७ आरोपपत्रहरू विशेष अदालतमा दायर गरिएको छ । आयोगको कार्यालय हेटौंडामा गत आर्थिक वर्ष २०८१–८२ मा कूल २७६६ उजुरी दर्ता भएकोमा ७०.४२ प्रतिशत १९४८ उजुरी फछ्यौट भई ८१८ चालू आर्थिक वर्ष २०८२–८३ मा सरी आएका छन्। यसै गरी चालु आ.व.मा हालसम्म ९५८ उजुरी दर्ता भई जम्मा उजुरी १७७६ कायम भएको छ। जसमा ७३१ फर्छयौट भई हाल १०४५ उजुरी छानविनको क्रममा रहेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा आयोगको कार्यालय हेटौडामा दर्ता भएका उजुरीमध्ये संघीय मामिला मन्त्रलय स्थानीय तह सँग सम्बन्धित ५३.११ प्रतिशत, शिक्षा स्थानीय तह सँग सम्बन्धित १७.०६ प्रतिशत गरी स्थानीय तहको कूल ७०.१७ प्रतिशत उजुरी रहेको छ। यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने मधेशका तीन जिल्लाहरु बारा, पर्सा र रौतहटसमेत गरी प्रदेशका विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरुको १७.३१ प्रतिशत उजुरीहरु रहेका छन्। यसैगरी सङ्घीय निकाय र कार्यालयहरु तर्फ १२.५२ प्रतिशत उजुरी रहेका छन् । तथ्यांक सार्वजनिक गर्दै “सुशासन र समृद्धि, नागरिकको अधिकार — भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार” भन्ने नारासहित आयोगको ३५ औँ स्थापना दिवस हेटौँडामा मनाइएको हो ।
भ्रष्टाचार नियन्त्रण कुनै एक संस्थाको मात्र दायित्व होइन, यो राज्यका सबै अंग र नागरिकको साझा जिम्मेवारी हो। अख्तियारले निष्पक्ष, निर्भीक र व्यावसायिक रूपमा अनुसन्धान गरी सुशासनको पहरेदारको भूमिका सशक्त बनाउनुपर्छ । प्रदेश प्रमुख देवकोटाले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउनुपर्ने, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने र विद्यालय तहदेखि नै सुशासनसम्बन्धी शिक्षा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
वि.सं. २०४७ साल माघ २८ गते स्थापना भएको आयोग नेपालको संविधान २०७२ को भाग २१, धारा २३८ अनुसार गठित संवैधानिक निकाय हो । आयोगले आगामी दिनमा पनि पारदर्शिता, निष्पक्षता र शून्य सहनशीलताको नीतिसहित भ्रष्टाचारविरुद्ध अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।




