नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले सरकारले ल्याएको अध्यादेश संसदबाट यथास्थितिमा पारित नहुने बताउनु भएको छ । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले अध्यादेश ल्याउने विषयमा नेपाली कांग्रेससँग छलफल गरेपनि, संसदमा विभिन्न दलहरूको असन्तुष्टि र सहमति नभएकोले पारित नहुने उल्लेख गर्नुभयो ।
विश्वकर्माले यदि अध्यादेश पारित नभएमा, त्यसको विकल्पको रूपमा विधेयक ल्याएर संसदीय प्रक्रियामा जान सकिने बताउनु भयो । कांग्रेसको महाधिवेशनबारे सोधिएको प्रश्नमा, विश्वकर्माले तोकिएको समयमा महाधिवेशन हुने दाबी गर्दै पार्टी भित्रका गुटहरूको अस्तित्व अब समाप्त हुने दाबी गर्नुभयो । उहाँले २०८४ सालको निर्वाचनसम्म अहिलेको गठबन्धन कायम रहने विश्वास समेत व्यक्त गर्दै ७ बुँदे सहमति अनुसार गठबन्धन बलियो भएको उल्लेख गर्नुभयो ।



अन्त्यमा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसबीचको गठबन्धनको विषयमा टिप्पणी गर्नुहुँदै २०७९ सालको निर्वाचनमा बनेको गठबन्धनअनुसार सरकार बनाउने तयारी कांग्रेसको रहेको बताउनु भयो ।



