धनगढी- २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ। शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा पुगेर डा. केसीको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो। चिकित्सकका अनुसार सुगरको मात्रा अत्यन्त न्यून भएकाले उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।
स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार उनलाई अस्पताल लगिएको हो। डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औँ सत्याग्रहमा बसेका छन्। उनका सहयोगी अमृत जैशीका अनुसार लामो समयदेखि अनशनमा रहेकाले उनको स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको छ। मांसपेशी बाउडिने, स्पष्ट रूपमा बोल्न कठिन हुने, खुट्टाको शल्यक्रिया गरेका कारण हिँडडुल गर्न समस्या हुने र बाथरुम जानसमेत अरूको सहयोग आवश्यक पर्ने अवस्था रहेको उनले बताए।



यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीले उठाएका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा. केसीसँग पनि टेलिफोन संवाद गरेका थिए।
संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने र आवश्यक परे आफू पनि धनगढी आउने प्रतिबद्धता जनाएको डा.केसीका सहयोगीले जानकारी दिएका छन्। डा. केसीले पाँच बुँदे मागका अतिरिक्त सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत तत्काल ३०० शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने तथा स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो मुख्य अडानका रूपमा अघि सारेका छन्। सरकार र डा. केसी पक्षबीच वार्ताको प्रयास भइरहेका बेला उनको स्वास्थ्य अवस्था भने थप चिन्ताजनक बन्दै गएको छ।



