पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान अनिश्चित भएको छ । सरकारले विशेष सहुलियत दिँदा पनि कुनै वायुसेवा कम्पनीले पोखराबाट नियमित व्यावसायिक उडान गर्न चासो दिएका छैनन् । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान गर्न तयार हुँदा पोखरामा भने अन्तर्राष्ट्रिय उडानको कुनै तयारी नै छैन ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा, फ्लाई दुबई, एयर एसियालगायतका वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान गर्न तयार भएका छन् । नेपाल एयरलाइन्सले २३ गतेबाट उडानको तयारी गरेको छ । यसमध्ये जजिरा र फ्लाई दुबईले २४ कात्तिकबाट उडान गर्ने जानकारी सूचना जारी गरिसकेका छन् । सँगै निर्माण र उद्घान भएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने अन्तर्राष्ट्रिय एउटा पनि उडान हुन सकेको छैन । हुने कुनै छाटकाट पनि देखिएको छैन । २ जेठ ०७९ मा गौतम बुद्ध र १७ पुस ०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका थिए । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यस पहिले पनि भएको थियो । तर पछि स्थगित हुन पुग्यो । पोखरा विमानस्थलले भने एउटा पनि अन्तर्राट्रिय उडानको अवसर नै पाएको छैन । पोखरा विमानस्थलमा उडान गर्न एउटै वायुसेवाले पनि प्रस्ताव पेस नगरेको क्यानले जनाएको छ । अरबौ रुपैयाँ लगानी गरेर निर्माण गरिएको विमानस्थल संचालनमा नआउदा पर्यटकीय राजधानी पोखरा भने स्तब्ध बनेको छ ।

२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर समानान्तर ट्याक्सी वे, एप्रोन लगायत विस्तारको काम गर्न लागेको क्यानले विन्टर सिजनदेखि ४० प्रतिशत उडान भैरहवा वा पोखरा सार्न अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई आग्रह गरेको थियो । तर, वायुसेवा कम्पनीहरू पोखरा आउन तयार देखिएका छैनन् । बरु उडान काटौटी गर्न तर्फ लागेका छन् ।

सरकारले त्रिभुवन विमानस्थलमा कटौती हुने उडान भैरहवा र पोखराबाट गराउन विशेष सहुलियत समेत उपलब्ध गराएको छ । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयान आकर्षित गर्नका लागि कार्ययोजना बनायो । कार्ययोजनामा भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा दिइँदै आएको छुटलाई निरन्तरता दिने उल्लेख छ । हवाई इन्धनमा सहुलियत, यात्रु सेवा शुल्क र टिकटमा भ्याट छुट, अध्यागमन पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम डेस्क स्थापना गर्ने, विभिन्न देशको भिसा सेन्टर स्थापना गर्नेलगायत पनि कार्ययोजनामा उल्लेख छ । तर, अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता नहुँदा यी सबै प्रयासले भने सार्थकता पाउन सकेका छैनन् ।

सन् २०२३ मा पोखराका लागि जम्मा सातवटा अन्तर्राष्ट्रिय चाटर उडान भएका थिए । सबैगरी २१५ जना यात्रु पोखरा ओर्लेको र ८१ जना पाहुना पोखराबाट बाहिरिएका थिए । त्यसबाहेक विमानस्थलबाट अरु कुनै पनि उडान भएका छैनन् । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको दुई वर्ष पुरा हुनै लागेको छ । तर अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा ऋण कसरी तिर्ने भन्ने प्रश्न जटिल बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय