काठमाडौं । सप्तरीमा अपहरणमा परेकी एक बालिकाको सकुशल उद्धार गर्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । अपहरणमा परेकी खड्क नगरपालिका वडा नम्बर–८ बिसनपुर निवासी ७ वर्षीय नेहा खातुनको सकुशल उद्धार गरिएको हो ।
अपहरण गरी फिरौती माग्ने सोही नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षक संजीब बोगटी प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ रुपनी १ स्थित खाँडोबाट ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए ।



मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि उनको परिवारजनले प्रहरीलाई खवर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी उपरीक्षक केसीकाअनुसार अपहरण गर्ने ईम्तियाजले बिहीबार बालिकाको बुवा इमरान खानलाई फोन गरी फिरौती लिएर रुपनी गाउँपालिका १ स्थित खाँडो खोला बोलाएका थिए ।
नियन्त्रणमा लिईएको ईम्तियाज अहमदलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



