काठमाडौं । शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि दिनभर तनाव रहेको नागढुंगा सडक खण्डको विवाद सुल्झिएको छ । घाइतेको सम्पूर्ण उपचार बेहोर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि विवाद टुंगिएको हो । विवाद मिलाउन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी पनि थानकोट प्रहरी वृत्त पुग्नुभएको थियो ।




यसअघि नागढुंगामा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरी र प्रदर्शनकारी दुबैतर्फका केही घाइते समेत भएका छन् । प्रहरीले चन्द्रागिरि नगरपालिका वडा–२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८ जनालाई केहीबेर नियन्त्रणमा लिएको थियो । प्रहरीले सम्बन्धित पक्षलाई झिकाई वार्ताको वातावरण तयार गर्ने सहमति जनाएपछि अवरुद्ध सडक खुलाइएको थियो ।

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक (डिब्बा गाडी)ले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरि–२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उहाँकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए ।

उहाहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ । ट्रकको ठक्करबाट ज्यानै जाँदासमेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

उनीहरूले ट्रकको सम्बन्धित समितिलाई छलफलमा बोलाउन माग गर्दै सडक अवरूद्ध पारेका हुन् । प्रहरीले यथाशीघ्र ठक्कर दिने ट्रकको सम्बन्धित समितिसँग छलफल गर्ने व्यवस्था मिलाउने भनेपछि स्थानीयले अवरोध खोलेका थिए । ‘तर, प्रहरीले पीडक पक्षलाई छलफलमा ल्याउने तदारूकता नै देखाएन,’ एक स्थानीयले भने। उहाँका अनुसार प्रहरीले लाठी चार्ज गर्दा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् ।



