आफ्नो सरकारले पार्टीका पूर्व सभापति शेरबहादुर देउवाबाट सम्पत्ति शुद्धिकरण सुरु गर्ने नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले बताउनु भएको छ ।शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै २०४६ साल पछिका सबै नेताको सम्पत्ति शुद्धिकरण गरिने बताउनु भएको हो । निर्वाचन पछि सुरुमै एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार गरेर सबैको सम्पत्ति शुद्धिकरण गर्ने उहाँको भनाई थियो । सम्पत्ति शुद्धिकरणको रोल क्रममा आफू दोस्रो नम्बरमा रहेको भन्दै भष्ट्राचार निवारण गर्छु भनेर मात्र नहुने बताउनु भयो । ‘‘म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेन्डा भनेको देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्ने हो । त्यसका लागि नेताहरूको सम्पत्ति शुद्धीकरणबाट सुरु हुन्छ । सुरुमा शक्तिशाली आयोग बन्छ पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र म पनि नेता भएकोले दोस्रोमा मेरो सम्पत्ति शुद्धिकरण गरिने छ ।’’ उहाँले भन्नु भयो ।
सभापति थापाले नयाँ र पुरानोको नाममा बतास चलेको भन्दै यसबाट बच्न आग्रह गर्नु भयो । देश बनाउने एजेण्डा बोकेर हिँडेका दल कुनै नयाँ र पुरानो नहुने उहाँको दावी थियो । बतास चलेको समयमा एकै छिन थामिनु पर्ने भन्दै उहाँले केही समय एक ठाँउमा उभिएर मात्र निर्णय गर्न आग्रह गर्नु भयो । उहाँले चुनावको समयमा फैलाइएको अफवाह मतदाताको घरघरमा पुगेर चिर्न उहाँले निर्देशन दिनुभयो ।



सम्बोधनका क्रममा सभापति थापाले मधेशको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था प्रति समेत चिन्ता व्यक्त गर्नु भयो । मधेश प्रदेशमै सर्लाही र रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कम्जोर रहेको भन्दै आफूले यसलाई गम्भिर रुपमा लिएको उहाँको भनाई थियो । आफू सर्लाही–४, को उम्मेदवार भएकोले यहाँको मात्र विकास हुने होकी भनेर चिन्ता गर्नु नपर्ने उहाँको धारणा थियो । घर दैलोको क्रममा आफूले मधेशको वास्तविक समस्या देखेको बताउदैन मधेशका दलित समुदायले झुपडीमा जीवन बिताउनु पर्ने अवस्था अन्त्य गर्ने उल्लेख गर्नुभयो ।
देशले नयाँ गति चाहेको भन्दै त्यसका लागि आफू तयार रहेको उहाँले जिकिर गर्नु भयो । ‘‘म प्रधानमन्त्री बनेपछि वार्षिक नभइ हरेक महिना कार्य सम्पादन र आगामी योजना सहित नागरिकको नाममा सम्बोधन गर्ने छु । मधेशमा ठुलो समस्याको रुपमा रहेको मलखाद, बिउ विजन, सिँचाइ र उत्पादित कृषि उपजको मूल्यको लागि अब किसानले भौतारिनु पर्दैन । किसानको एउटा कार्ड लिएर गएपछि सबै समस्या समाधान हुने व्यवस्था तयार गछौँ’’ उहाँले भन्नुभयो ।
तीब्र गतिामा देशलाई अगाडि लैजाने र दुर्घटना पनि नगराउने नेतृत्व आजको आवश्यक्ता रहेको भन्दै काँग्रेस पार्टीलाई बहुमत सहित जिताइ दिन समेत अनुरोध गर्नु भयो । सभापति थापा सर्लाहीको कार्यक्रम सम्पन्न गरी बारा हुदै चुनावी सभालाई सम्बोधन गर्न पर्सा तर्फ प्रस्थान गर्नु भएको पार्टीले जनाएको छ ।



