काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ । बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाए । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाएका थिए ।
बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाएका थिए । यस्तै दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन जोडे ।






