अमेरिकाको टेक्सास राज्यस्थित केर काउन्टीमा आएको भीषण बाढीका कारण हालसम्म २४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। बाढीको प्रभावले मध्य टेक्सास क्षेत्रलाई व्यापक क्षति पुर्याएको छ भने समर क्याम्पमा रहेका २५ जना बालिका अझै बेपत्ता छन्। स्थानीय प्रशासनका अनुसार बाढीले विशेष गरी ग्वाडालुप नदी आसपासको क्षेत्रलाई नराम्रोसँग प्रभावित पारेको छ। टेक्सास राज्यका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले एक पत्रकार सम्मेलनमा बताएअनुसार,ग्वाडालुप नदीको सतह ४५ मिनेटभित्रै २६ फिटले बढ्यो, जसले गर्दा बाढी अत्यन्तै तीव्र र विनाशकारी बन्यो।



बाढीको समयमा काउन्टीको एक समर क्याम्पमा झन्डै ७ सय बालबालिका सहभागी थिए। तीमध्ये २५ जना बालिका सम्पर्कविहीन भएका छन्। उद्धार टोलीले हराएकाहरूको खोजी कार्य तीव्र बनाएको छ। हेलिकप्टर, ड्रोन्स र विशेष तालिम प्राप्त उद्धारकर्मीहरू परिचालित गरिएको अधिकारीहरूले जनाएका छन्। अमेरिकी मौसम सेवा (NWS) का अनुसार, मध्य केर काउन्टीमा रातभरिमा करिब २५० मिलिमिटर वर्षा मापन गरिएको थियो। यस वर्षाको कारण नदीहरूमा पानीको सतह अत्यधिक बढेर आसपासका क्षेत्रमा आकस्मिक बाढी आएको हो।
बाढीका कारण मध्य टेक्सास क्षेत्रका धेरै सडकहरू आवागमनका लागि बन्द गरिएको छ। केही पुलहरू भासिएका छन् भने दर्जनौं सवारी साधन पानीमा बगाएको खबर आएको छ। विद्युत सेवा र मोबाइल नेटवर्कसमेत कतिपय स्थानमा प्रभावित भएको बताइएको छ। केर काउन्टी इमर्जेन्सी म्यानेजमेन्ट अफिसले सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र सतर्क रहन आग्रह गरेको छ। साथै सम्भावित थप वर्षाका कारण बाढीको जोखिम कायमै रहेको जनाइएको छ।
राज्य र संघीय सरकारका विभिन्न निकायहरू, स्वयंसेवी संस्था, रेडक्रस र राष्ट्रिय गार्डको सहयोगमा राहत तथा उद्धार कार्य जारी रहेको छ। टेक्सास गभर्नरको कार्यालयले प्रभावित क्षेत्रका लागि आपतकालीन सहयोग कोष खोलन सक्ने संकेत दिएको छ। बाढीमा ज्यान गुमाएकाहरूको परिवारमा शोक छाएको छ। हराएकाहरूको अवस्था अज्ञात रहेकाले चिन्ता अझ बढ्दो छ। स्थानीय विद्यालय, चर्च र सामुदायिक केन्द्रहरूमा अस्थायी आश्रयस्थलहरू खोलिएका छन्। थप विवरण आउने क्रममै छ।



