अमेरिका र इजरायलले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा संयुक्त सैन्य कारवाही थप तीव्र पारेका छन्। पछिल्लो २४ घण्टामा तेहरानका रणनीतिक स्थान र इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमको मुख्यालयमा शक्तिशाली बमबारी भएको छ। तेहरानको मध्य भागमा गरिएको आक्रमणमा ठूलो मानवीय र भौतिक क्षति भएको छ। आक्रमण सुरु भएयता इरान र लेबनानमा मृत्यु हुनेको संख्या ६ सय नाघिसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको यो सैन्य अभियान करिब चार हप्तासम्म चल्न सक्ने संकेत दिएका छन्। उनले इरानको मिसाइल र आणविक क्षमता पूर्ण रूपमा नष्ट गर्न वासिङ्टनले जुनसुकै कदम चाल्ने चेतावनी दोहोर्याएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मारिएपछि यस क्षेत्रमा तनाव थप उत्कर्षमा पुगेको छ। सम्पूर्ण खाडी मुलुक युद्धको चपेटामा परेका छन्। साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएपछि त्यहाँ आगलागी भएको छ। कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले लगातार इरानी मिसाइल र ड्रोनहरूको सामना गरिरहेका छन्। कतारले आफ्नो हवाई क्षेत्र शनिबारदेखि नै बन्द गरेको छ ।
इरानको रिभोलुसनरी गार्ड्सले विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मोज बन्द भएको घोषणा गरेको छ। इरानले यो मार्गबाट जान खोज्ने कुनै पनि जहाजमाथि कडा आक्रमण गर्ने चेतावनी दिएको छ । यसले विश्वबजारमा कच्चा तेल र ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। कतारको सरकारी पेट्रोलियम कम्पनीले आफ्ना प्लान्टहरूमा क्षति पुगेपछि एलएनजी उत्पादन स्थगित गरेको छ । साउदी अरबले पनि सुरक्षा सतर्कताका लागि आफ्नो ठूलो तेल रिफाइनरी बन्द गरेको छ।



लेबनानको राजधानी बेरुतमा पनि इजरायलले हिजबुल्लाहका गढहरूलाई लक्षित गरी भीषण आक्रमण जारी राखेको छ। आक्रमणमा परि कम्तिमा ५२ जनाको मृत्यु भएको छ। जवाफमा इरानले इजरायलका प्रमुख शहरहरू तेल अभिभ, जेरुसेलम र इलतमा रकेट प्रहार गरेको छ। यो युद्धले पश्चिम एसियालाई मात्र नभई सम्पूर्ण विश्वको सुरक्षा र अर्थतन्त्रलाई गम्भीर जोखिममा पारेको छ।



